जिल्ला अस्पतालमा डायलाइसिस सेवा

दैलेख : स्वास्थ्य सेवा कार्यालय दैलेखमा डायलाइसिस सेवा सुरु हुने भएको छ । स्वास्थ्य सेवा विभागद्वारा पाँच वटा डायलाइसिस मेसिन सहयोग पछि जिल्लामा पहिलो पटक डायलाइसिस सेवा सञ्चालनमा ल्याइन लागिएको हो । जिल्लामा डायलाइसिस सेवा सुरुपछि यहाँका नागरिकलाई उपचारका लागि बाहिर जिल्ला जानुपर्ने बाध्यता अन्त्य हुने स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य व्यवस्थापक डाक्टर मनोज विश्वकर्माले बताए ।

जिल्लाका स्थानीय मिर्गौला पीडितलाई निःशुल्क रूपमा डायलाइसिस सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेवा सुरु गर्न लागिएको उनले बताए । उक्त सेवाले आर्थिक अभावमा उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्था अन्त्य हुने उनले बताए । मिर्गौलामा समस्या देखिएका बिरामीलाई जिल्लामा डायलाइसिस सेवा दिन सकिने निमित्त स्वास्थ्य व्यवस्थापक विश्वकर्माको भनाई छ ।

जिल्ला अस्पतालमा डायलाइसिस सेवा सुरु हुने भएपछि जिल्ला भित्रका मिर्गौला पीडितहरूलाई राहत हुने स्थानीय सुनिता शाहीले बताइन् । उनले डायलिसिस सेवाका लागि जिल्ला बाहिरका सरकारी र निजी अस्पतालमा महँगो शुल्क तिर्नुपर्ने बाध्यताको अन्त्य हुने बताइन् । ‘यहाँका बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता थियो । जिल्लामा डायलाइसिस सेवा विस्तार पछि नागरिकले स्थानीय स्तरमा सहज सेवा पाउने अपेक्षा छ ।,’ उनले भनिन् ।

एउटा मेसिन खरिदमा करिब १५ देखि १६ लाख रुपियाँ खर्च हुन्छ । डायलाइसिस लागि गाउँबाट आउनेलाई पहिलो चरण, दोस्रो चरणमा सदरमुकाममै बसोबास गर्ने बिरामीलाई तेस्रो चरण अर्थात् साँझको समयमा डायलिसिस सेवा उपलब्ध गराउने गरी कार्यसूची तयार गरिएको छ ।

उक्त सेवा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । एक महिनामा चार सयदेखि चार सय ५० बिरामीलाई डायलाइसिस सेवा दिइने लक्ष्य रहेको जनाइएको छ । यसअघि जिल्लाका मिर्गौला बिरामीले डायलाइसिस सेवाका लागि सुर्खेत तथा काठमाडौँसम्म धाउनुपर्ने बाध्यता थियो । जिल्लामा करिब एक सय ५० बढी डायलाइसिस गर्नुपर्ने का बिरामी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार